तीन जिल्लामा बाढीले खोसेको पढाइ फर्काउन गरिँदैछ कसरत

Comments:0Readers Count:1

बाढी प्रभावित क्षेत्रहरुमा विद्यालय सञ्चालनको गृहकार्य थालिएको छ । रसुवा, नुवाकोट र धादिङ जिल्लाका स्थानीय प्रशासन तथा शिक्षा निकायहरू पठनपाठन पुनः सञ्चालन गर्ने कार्ययोजना निर्माणमा जुटेका हुन् । 

विपद्का कारण २८ वटा विद्यालयका भौतिक संरचनामा क्षति पुगेको छ । ५०४ जना विद्यार्थी बेपत्ता भएका छन् । केही शिक्षक तथा निवृत्त शिक्षकसमेत मृत अवस्थामा भेटिएका छन् ।

बाढीले कक्षाकोठा, खेलकुद मैदान, अस्थायी सिकाइ केन्द्र र आवास गृहहरू बगाएपछि तीनवटै जिल्लाका शिक्षा विकास तथा समन्वय एकाइहरूले स्थानीय तह, गाउँपालिका, नगरपालिका तथा व्यवस्थापन समितिसँगको सघन समन्वयमा पठनपाठन पुनः सुरु गर्ने बहुआयामिक रणनीति तय गरेका हुन् । 

भौतिक रूपमा विद्यालय सञ्चालन गर्न असम्भवप्रायः बनेका स्थानहरूमा नजिकका अन्य विद्यालयमा स्थानान्तरण गर्ने, अस्थायी सिकाइ केन्द्र स्थापना गर्ने, आवास वा होस्टेलको प्रबन्ध मिलाउने र विद्यार्थी तथा शिक्षकहरूमा परेको गम्भीर मानसिक आघात (ट्रमा) सम्बोधन गर्न मनोपरामर्शलाई पहिलो प्राथमिकता दिनेगरी तयारी थालिएको छ । 

शिक्षा विकास तथा समन्वय एकाइ रसुवाका सूचना अधिकारी जीवन दाहालले आगामी भदौ २४ गतेबाट पठनपाठन सञ्चालन गर्ने गरी तयारी तीव्र पारिएको बताए । उनले भने, ‘जिल्लाका पाँचवटै पालिकामा विपद्पछिको शैक्षिक पुनःउत्थानका लागि विशेष रणनीति बनाइएको छ । तत्काल औपचारिक पाठ्यक्रम भन्दापछि भदौ २४ गते विद्यालय खोलेपछि सुरुआती दिनहरूमा अनिवार्य रूपमा मनोपरामर्श सत्रहरू चलाइने योजनामा छौँ ।’ 

रसुवाका चार वटा विद्यालय (तीन सामुदायिक र एक संस्थागत) का २ सय ८० विद्यार्थी र १६ शिक्षक बेपत्ता छन्, एक जना शिक्षकको भने मृत्यु भएको छ । बाढीबाट प्रभावित गोसाइँकुण्ड गाउँपालिका–२ टिमुरेस्थित श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालयका ३५ मध्ये २५ जना विद्यार्थी बेपत्ता छन् भने उत्तरगया गाउँपालिका–१ सल्लेटारको चिप्लेटी आधारभूत विद्यालयका ७ मध्ये १ जना, उत्तरगया–४ कुवापानीको मालिकादेवी आधारभूत विद्यालयका १८ मध्ये ९ जना र उत्तरगया–५ बेत्रावतीस्थित मोर्डन ट्रिनिटीका २०७ मध्ये ८ जना विद्यार्थी बेपत्ता छन् । 

दाहालले आफ्ना घर र विद्यालय क्षेत्र नै असुरक्षित भएका विद्यार्थीहरूलाई पढाइबाट विमुख हुन नदिन नजिकका सुरक्षित विद्यालयहरूमा ‘होस्टेल’ वा आवासीय व्यवस्थापन गरेर पढाउनेगरी पालिका सरकारसँग समन्वय भइरहेको बताए ।

शिक्षा विकास तथा समन्वय एकाइ नुवाकोटका अनुसार यो जिल्लामा बाढीपहिरोले १० वटा विद्यालयमा ठुलो क्षति पुर्‍याएको छ । यस्तै, २२४ जना विद्यार्थी र ११ जना शिक्षक बेपत्ता छन् ।  ५ जना विद्यार्थी र १ जना शिक्षकको मृत्यु भइसकेकाले चरणबद्ध रूपमा विद्यालय सञ्चालन गर्ने तालिका सार्वजनिक गरिएको छ । 

शिक्षा विकास तथा समन्वय एकाइ नुवाकोटका प्रमुख सूर्यबहादुर खत्रीका अनुसार तारकेश्वर गाउँपालिकाकाका २ वटा र विदुर नगरपालिकाका ८ वटा विद्यालय प्रभावित भएका छन्, जसमध्ये त्रिभुवन त्रिशुली माध्यमिक विद्यालयमा सबैभन्दा बढी अनुमानित २ अर्ब रुपैयाँ बराबरको भौतिक क्षति भएको छ । त्रिभुवन त्रिशुली माविको कभर्डहल, सामुदायिक भवन र अस्थायी सिकाइ केन्द्र पूर्ण रूपमा लेदो र पहिरोले बगाएर नष्ट बनाएको छ । 

पूर्वाधार शून्यको स्थितिमा पुगेका कारण नुवाकोटका अन्य सामान्य प्रभावित विद्यालयहरू आगामी बुधबारदेखि नै सञ्चालन गर्ने तयारी गरिए पनि त्रिभुवन त्रिशुली माविमा भने असोज १ देखि मात्रै वैकल्पिक कक्षा सञ्चालनमा ल्याउने योजना छ । 

खत्रीेले यो समयभित्र विद्यालय परिसरको लेदो पन्छ्याउने, अस्थायी टहरा तथा पाल टाँगिएका सिकाइ केन्द्र निर्माण गर्ने र आवासीय सुविधासहित विद्यालय सञ्चालन गर्ने पूर्वाधार तयार पारिने बताए । उनले भने, ‘विद्यार्थीहरूलाई सुरक्षित वातावरणमा राखेर पठनपाठन गराउन आवाससहितको मोडेल नै अहिलेका लागि एक मात्र उत्तम विकल्प देखिएको छ । अन्य विद्यालयहरु बुधबारबाट सञ्चालन गर्ने योजनामा छौँ ।’ 
धादिङमा बाढी प्रभावित १० मध्ये २ वटा विद्यालय पूर्ण रुपमा ध्वस्त भएका छन् । ८ वटा विद्यालयमा आंशिक क्षति पुगेको छ ।

शिक्षा विकास तथा समन्वय एकाइ धादिङका सूचना अधिकारी विजय तामाङका अनुसार बेनीघाटस्थित बुद्धि विकास आधारभूत विद्यालय र गल्छीस्थित अम्लेश्वर गुरुकुल संस्कृत देवी विद्याश्रम पूर्ण रूपमा भएको छ । यस्तै ९ विद्यार्थीका अभिभावकको मृत्यु भएको छ । 

शिक्षा एकाइ र स्थानीय तहबिच छलफल

पूर्ण रूपमा क्षति भएका दुई विद्यालयका विद्यार्थीलाई कसरी र कहाँ सञ्चालन गर्ने भन्ने विषयमा शिक्षा एकाइ र स्थानीय तहबिच घनीभूत छलफल भइरहेको छ । पूर्ण क्षतिग्रस्त विद्यालयका बालबालिकालाई नजिकैका अन्य सामुदायिक विद्यालयमा गाभ्ने वा तिनीहरूलाई पायक पर्ने अर्को सुरक्षित भवनमा स्थानान्तरण गरी कक्षा सञ्चालन गर्ने तयारी भइरहेको छ । तामाङले यो सम्पूर्ण स्थानान्तरण र वैकल्पिक व्यवस्थापनको प्रक्रिया पूरा गरी कक्षा सञ्चालनमा ल्याउन कम्तीमा एक हप्ता लाग्ने अनुमान गरिएको बताए । 

शिक्षा तथा खेलकुद मन्त्रालयका सहप्रवक्ता वीरबहादुर धामीले बालबालिकाको सिकाइलाई अस्थायी सिकाइ केन्द्र स्थापना गरेर सुरु गर्नेबारे छलफल भइरहेको बताए । उनले भने, ‘प्रभावितहरू घर, परिवार, आफन्त गुमेको पीडामा हुनुहुन्छ । यो समय उद्धार र खोजको समय हो । यस्तो बेला मनोसामाजिक परामर्श दिन जरुरी छ । त्यसपछि हामी सिकाइको चरणमा प्रवेश गर्छौँ ।’

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

0 प्रतिक्रियाहरू
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

Similar Posts