राष्ट्रव्यापी शोकका अवसरमा त्रिभुवन मावि परिवारद्वारा शोक व्यक्त
भदौ १० गते भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीले रसुवा, नुवाकोट र धादिङलगायतका क्षेत्रमा पुर्याएको अपूरणीय मानवीय तथा भौतिक क्षतिले सम्पूर्ण राष्ट्रलाई स्तब्ध बनाएको छ। यस दुःखद विपत्तिमा नेपाली तथा विदेशी नागरिकहरूले ज्यान गुमाउनु परेको, धेरै नागरिक बेपत्ता भएको र हजारौँ परिवार प्रभावित भएको पीडादायी घटनाप्रति हामी गहिरो दुःख व्यक्त गर्दछौँ।
यस राष्ट्रिय विपत्तिप्रति शोक व्यक्त गर्दै आज देशभर सरकारी कार्यालय तथा सार्वजनिक निकायहरूमा शोक मनाउने कार्यक्रम अन्तर्गत, हाम्रो विद्यालयले पनि दिवंगत आत्माहरूको चिरशान्तिको कामना गर्दै राष्ट्रिय झण्डा आधा झुकाएको छ।
साथै, विद्यालयका सम्पूर्ण शिक्षक, कर्मचारी तथा विद्यार्थीहरूले एक मिनेट मौनधारण गरी दिवंगतहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन्।
यो दुःखको घडीमा पीडित परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दै बेपत्ता नागरिकहरूको सकुशल उद्धारको कामना गर्दछौँ। साथै, प्रभावित परिवारहरूको पीडामा विद्यालय परिवार सदैव साथ र ऐक्यबद्ध रहेको प्रतिबद्धता व्यक्त गर्दछौँ।
विपत्तिको घडीमा सिंगो राष्ट्र एक छ।
हार्दिक श्रद्धाञ्जली एवं गहिरो समवेदना।

प्रतिक्रिया दिनुहोस्
0 प्रतिक्रियाहरू