त्रिभुवन डान्स स्टार र सिङ्गिङ स्टार सिजन–४ सम्पन्न, आरोशी र मनिस विजेता

Comments:0Readers Count:13

दोलखा । मेलुङ गाउँपालिका–६ स्थित श्री त्रिभुवन माध्यमिक विद्यालयमा आयोजित ‘त्रिभुवन डान्स स्टार’ तथा ‘त्रिभुवन सिङ्गिङ स्टार’ सिजन–४ प्रतियोगिता सम्पन्न भएको छ। दसैँ, तिहार तथा छठ पर्वको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमसँगै सम्पन्न प्रतियोगितामा विद्यार्थीहरूले आफ्नो नृत्य तथा गायन प्रतिभा प्रस्तुत गरेका थिए। विद्यार्थीमा रहेको अन्तर्निहित प्रतिभा पहिचान, प्रस्फुटन तथा विकास गर्ने उद्देश्यले आयोजित प्रतियोगितामा नृत्य र गायनतर्फका प्रतिभाशाली विद्यार्थीहरूले उत्साहजनक सहभागिता जनाएका थिए।

कार्यक्रममा उपस्थीत अतिथि र शिक्षकहरु

डान्स स्टारतर्फ आरोशी परियार विजेता

‘त्रिभुवन डान्स स्टार’ सिजन–४ प्रतियोगितामा आरोशी परियार विजेता बन्न सफल भएकी छन्। प्रतियोगितामा केशु कार्की फर्स्ट रनरअप, रेबिका श्रेष्ठ सेकेन्ड रनरअप र सुजता श्रेष्ठ थर्ड रनरअप घोषित भएका छन्।

त्यसैगरी, ‘त्रिभुवन सिङ्गिङ स्टार’ सिजन–४ प्रतियोगितामा मनिस तिवारी विजेता बनेका छन्। डिकेन श्रेष्ठ फर्स्ट रनरअप, स्वर्णिम थापा सेकेन्ड रनरअप र स्पन्दन श्रेष्ठ थर्ड रनरअप भएका छन्।

प्रतियोगिताले विद्यार्थीहरूलाई आफ्नो प्रतिभा प्रस्तुत गर्ने अवसर प्रदान गर्नुका साथै उनीहरूमा आत्मविश्वास, सिर्जनशीलता र प्रतिस्पर्धात्मक भावनाको विकास गर्न सहयोग पुर्‍याएको छ।

उत्कृष्ट शिक्षकहरू सम्मानित

कार्यक्रमका अवसरमा विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि तथा शिक्षण सिकाइ प्रक्रियामा योगदान पुर्‍याउने उत्कृष्ट शिक्षकहरूलाई सम्मान गरिएको थियो।

सम्मानित हुनेहरूमा माध्यमिक तहबाट गोविन बराल, निम्न माध्यमिक तहबाट आरती उप्रेती र प्राथमिक तहबाट शारदा सेडाई रहेका छन्। शिक्षकहरूको मेहनत, समर्पण र शैक्षिक योगदानको कदर गर्दै गरिएको सम्मानले विद्यालयमा सकारात्मक कार्यसंस्कृति र शिक्षणप्रतिको उत्प्रेरणा बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

भाग्यशाली चिठ्ठाका विजेतालाई पुरस्कार

कार्यक्रमअन्तर्गत सञ्चालन गरिएको भाग्यशाली चिठ्ठा कार्यक्रममा पनि सहभागीहरूको उत्साहजनक सहभागिता रहेको थियो। चिठ्ठामा प्रथम पुरस्कार फ्रिज कमल गिरीले प्राप्त गरेका छन्। त्यसैगरी, द्वितीय पुरस्कार खसी योजना थामीले र तृतीय पुरस्कार मोबाइल जनक कार्कीले प्राप्त गरेका छन्।

जनप्रतिनिधि, अभिभावक तथा पूर्वविद्यार्थीको सहभागिता

मेलुङ गाउँपालिकाका अध्यक्ष हिरा कुमार तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा गाउँपालिका उपाध्यक्ष गायत्री आचार्य, पूर्व विद्यालय व्यवस्थापन समिति अध्यक्ष, पूर्वविद्यार्थी, अभिभावक, शिक्षक तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमले विद्यालय र समुदायबीचको सम्बन्धलाई थप प्रगाढ बनाउनुका साथै विद्यालयका गतिविधिमा अभिभावक तथा सरोकारवालाको सहभागिता अभिवृद्धि गर्न सहयोग पुर्‍याएको थियो। चाडपर्वको शुभकामना आदानप्रदानसँगै विद्यार्थीको प्रतिभा सम्मान गर्ने अवसरका रूपमा समेत कार्यक्रम महत्त्वपूर्ण बनेको थियो

विद्यार्थीको प्रतिभा विकासमा विद्यालयको जोड

विद्यालयका प्रधानाध्यापक सन्तोष श्रेष्ठले विद्यार्थीमा रहेका अन्तर्निहित प्रतिभा पहिचान गरी तिनको विकास गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए। उनका अनुसार यस्ता अतिरिक्त क्रियाकलापले विद्यार्थीको प्रतिभा उजागर गर्नुका साथै उनीहरूमा आत्मविश्वास, सिर्जनशीलता र नेतृत्व क्षमताको विकास गर्न महत्त्वपूर्ण भूमिका खेल्छन्।

श्रेष्ठले यस्ता कार्यक्रमले विद्यालयको शैक्षिक वातावरणलाई थप जीवन्त बनाउनुका साथै विद्यालय र समुदायबीचको सम्बन्ध सुदृढ गर्नसमेत सहयोग पुग्ने धारणा व्यक्त गरे।

पाठ्यपुस्तकमा आधारित सिकाइसँगै कला, संगीत, नृत्य तथा अन्य सिर्जनात्मक गतिविधिलाई प्राथमिकता दिन सके विद्यार्थीको सर्वाङ्गीण विकासमा योगदान पुग्ने विश्वास विद्यालयले लिएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

0 प्रतिक्रियाहरू
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

Similar Posts